पोखरामा असार ६, ७ र ८ गते मात्रै पुरु लम्सालको लेखन तथा निर्देशनमा लगातार ३ दिनसम्म मञ्चन भएको नाटक अर्को ओरालोले कुनैबेला नाटकको शहरका रुपमा परिचित पोखरालाई फेरी ब्युँझाउने प्रयास गर्यो ।
गतबर्षको असारमा पनि नाटककार कृष्ण उदासीको लेखन तथा निर्देशनमा अन्तराष्ट्रिय रक्सी भट्टी नामक नाटक मञ्चन भएको थियो भने साउनमा उदासीकै आमाको मुर्छना र स्मृती नामक कविता पनि मञ्चन भए । यसपछि नै पोखरामा लामो समय सुस्ताएको नाटक मञ्चनले गति लिएको हो ।
"पहिले पहिलेका अग्रजहरुले नाटक हेर्नका लागि पोखरामै जानुपर्छ भन्ने गर्नुहुन्थ्यो । पछिल्लो १० बर्ष सुस्ताएको नाटकलाई नाटककार कृष्ण उदासीसँग हातेमालो गर्दै यूथ क्रियशन थियटर गठन गरेर हामीले नाटकलाई पुनर्जागरण गर्ने प्रयास गरेका छौं । अब पक्कै पनि पोखरेली नाटकलाई सुस्ताउन नदिने प्रयासमा हामीहरु लागि रहने छौं । पहिले प्रविधिको अभावमा हातमा माईक समातेरै नाटकको डाईलग बोलिन्थ्यो भने अहिले कमसेकम पिन माईकको प्रयोग हुन थालेको छ । त्यति मात्रै होईन, पोखरामा नाटकका लागि सबैभन्दा ठूलो समस्या हलको छ । पोखरामा व्यवस्थित हल मात्रै भईदिने हो भने पनि हामीले पोखराको नाटकलाई पहिलेकै अवस्थामा पुर्याउन सक्ने थियौं ।"
- कपिल शर्मा संजोग, अध्यक्ष, युथ क्रियशन थिएटर
नेपालमा किराँत र लिच्छवी कालदेखि नै नाटक मञ्चनको क्रम सुरु भएपनि पोखरामा भने यो क्रम कवि लेखनाथ पौड्यालको पालादेखि मात्रै सुरु भएको मानिन्छ ।
लिच्छवि र मल्लकालिन ईतिहाससँगै मोतिराम भट्ट, पहलमानसिंह स्वाँर, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, गोविन्द मल्ल र विजय मल्ल हुँदै यहाँसम्म आईपुगेको रंगमञ्चलाई यसपछिका रङगकर्मीले नाटकमा परिवर्तन ल्याउने प्रयास गरिरहेका छन् । तरपनि लामो समयको विश्रामपछि, सुरु भएको पोखरेली नाट्यक्षेत्रमा ठूलै परिवर्तन भने देखिएको छैन ।
हुन त नाटक मञ्चनको ईतिहास सुरु भएदेखि नै काठमाण्डूमा रंगमञ्चले लामो विश्राम लिनुपरेको छैन । तर नाटकमा प्रयोग गरिने प्रविधि, कलाकारको लगाव व्यवस्थित नाट्यघर र दर्शक अभावले ३० को दशकदेखि ५० को दशकसम्म पछाडी फर्किनु नपरेको पोखरेली रंगमञ्च भने एकाएक ओरालो लाग्यो ।
नाटक लेखेरै र खेलेरै मात्र जीवन धान्न नसक्ने स्थिती र समयको परिवर्तनलाई पनि कलाकारले बुझ्न सक्ने हो भने फेरी सुरु भएको पोखरेली रंगमञ्चले पछाडी फर्किनु नपर्ने तर्क पोखरेली साहित्यकारहरु तर्क गर्छन् ।
"नाट्य क्षेत्र र रंगक्षेत्रमा निरन्तर लागिपर्ने र यसैलाई पेशा बनाउने व्यक्तिहरुको पोखरामा खाँचो छ । पोखरामा अहिले पनि व्यवसायिक भन्दा अव्यवसायिक सोचका रंगकर्मी संगठित भैरहेका छौं । जसरी काठमाण्डूमा अहिले व्यवसायिक किसिमले रंगकर्मको सुरुवात भएको छ, पोखरामा पनि त्यो हुनु जरुरी छ । रंगकर्मीहरु रंगकर्मलाई नै जीविकोपार्जनको माध्यम बनाउने र यहि क्षेत्रमा निष्ठापूर्वक र प्रतिबद्धता भएर लाग्ने हो भने पोखरामा नाट्यक्षेत्रको सम्भावना बलियो छ ।"
- सरुभक्त, साहित्यकार तथा रंगकर्मी
नेपाली रङगमञ्चको विकास र गतिशीलताको सन्दर्भलाई हेर्ने हो भने जानेर वा नजानेर होस् काठमाण्डू उपत्यका बाहिरको रङगमञ्च सधैं ओझेलमा पर्दै आएको छ ।
प्रशंसा र प्रशिक्षण विना मोफसलका जिल्लाहरुमा धेरै नै नाट्य समूहले काम गरेको प्रशस्तै उदाहरण पनि छन् । अहिले काठमाडौ“ बाहिरको नेपाली रङगमञ्चलाई हेर्दा नेपालका थुप्रै जिल्लाका रङगमञ्चमा विभिन्न समयमा लोभलाग्दा काम पनि भएका छन् ।
लामो समय थला परेको पोखरेली रंगमञ्चलाई जीवन्त पार्ने प्रयासमा पनि पोखरेली नाट्यप्रेमी जुटिरहेका छन् ।
"कुनै एक समय नाटक भन्ने बित्तिकै सबैले पोखरालाई सम्झिन्थे । अघिल्लो एकदशक नाट्यक्षेत्र व्यवसायिक बन्न सकेन । पछिल्लो समय हामी फेरी नाटकलाई पुनर्जागरण गराउने अभियानमा लागिरहेका छौं । पोखरामा नाटकका लागि साउण्ड, लाईट र हलको सबैभन्दा बढी समस्या छ । यी समस्या सम्बोधन भएमा कलाकारले नाटक खेलेर, निर्देशकले निर्देशन गरेर र लेखकले लेखेर बाँच्न सक्ने अवस्था आउँछ । अनि मात्रै नाटकले व्यवसायिकता पाउनेछ । "
- सौगात संघर्ष, रंगकर्मी
नाटकका लागि आवश्यक पूर्वाधारको विकास नहुनु र युवापुस्ता यसप्रति आकर्षित नहुँदा सुस्ताएको पोखरेली रंगमच अब भने केही तात्ने संकेत देखिएको छ ।
पोखरामा नाटकलाई व्यवसायिक बनाउन स्थायी थिएटरको निर्माणसँगै अन्य विधाजस्तो नाटकलाई प्राथमिकता र नयाँ पुस्तामा हस्तान्तण गर्न सकेमा पोखरेली नाट्य क्षेत्रले ठूलै फड्को मार्न सक्ने सम्भावना छ ।
लेखकलाई फेसबुक र फेसबुकमा भेट्नुहोस् ।
(उज्यालो ९० नेटवकबाट प्रसारण हुने नेपाल दर्पणको रंग दर्पणमा प्रसारित सामग्रि ।)
No comments:
Post a Comment