Saturday, September 24, 2011

जलवायू परिवर्तनको असर मौरीमा पनि देखियो

कास्कीको चापाकोटका किसान मौरीपालनतर्फ आकर्षित

परम्परागत मूढे घार


आधुनिक घारबाट मौरी निकालेर देखाउँदै किसान
पछिल्लो समय मौरीमा पनि जलवायू परिवर्तनको असर देखिन थालेको छ । जलवायू परिवर्तनले गर्दा समयमै फूल फूल्न छाडेको र माहुरीलाई खानाको कमि भएकाले पहिलेको जस्तो मह उत्पादन नहुने मौलिपालक किसानले बताएका छन् । चाहिनेभन्दा बढि तापक्रम भएका कारण मौरी मर्ने, चरनमा ननिस्कने, मह उत्पादन नहुने जस्ता समस्या देखिएको किसानले गुनासो गरेका छन् ।
मौरीका चाकामा काम गदर्दै कामदार मौरी
यसैबीच, कास्कीको चापाकोट गाउँ विकास समितिका स्थानीय बासिन्दा मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन् । केही बर्ष अगाडी चापाकोट घाँटिछिनाका स्थानीय टङ्क प्रसाद पराजुलीले सुरु गर्नुभएको मौरीपालन व्यवसायलाई अहिले यहाँका अधिकांश किसानले पछ्याएका हुन् । अन्य व्यवसाय जस्तो झन्झटिलो नहुने र दिनहुँ स्याहार गर्नु नपर्ने भएकोले पनि मौरीपालन व्यवसायतर्फ लाग्ने किसानको संख्या बढ्दै गएको छ ।
अहिले चापाकोटका करिब २ सय घरमा मौरीपालन गरिएको छ । गाउँघरमै उत्पादित मह गुणस्तरिय हुने भएकाले महका लागि बजारको कुनै समस्या नरहेको किसान पराजुलीले बताउनुभयो । चापाकोटमा उत्पादित मह प्रतिकिलो ५ सय रुपैयाँमा पोखरामा बिक्री हुने गरेको छ । यहाँका मौरीपालक किसानले एक घार मौरी बेचेबापत ३ देखि ५ हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् । विगत ५ बर्षदेखि मौरीपालन व्यवसाय सुरु गर्नुभएका किसान पराजुलीले मात्रै गएको १ बर्षमा ८० किलो मह उत्पादन गर्नुभएको छ । यस्तै, ८० घार मौरी बेचेर अहिलेसम्म ५ लाख रुपैयाँभन्दा बढी कमाएको उहाँले बताउनुभयो ।

2 comments:

  1. हैन जलवायू परिवर्तन तहल्कै मच्चाउँदो रहेछ त ?

    ReplyDelete
  2. हिमालको हिउँ पग्लनेदेखि लिएर जीवजन्तु लोप हुने लगायत सबै लक्षण जलवायू परिवर्तनका हुन् ।

    ReplyDelete